Sunday, September 2, 2018

अफसोस !!

फेरी एक पटक
समयले मलाई फर्काई दिए
जीवनको त्यो पुरानो मोडमा
म सच्याउँथे गल्तीहरु
सँगाल्थेँ विश्वासहरु
अँगाल्थेँ आत्मविश्वास
तर अफसोस्
म यो मोडमा उभिएर
केवल अफसोसमा बाँचिरहेछु
नियालिरहेछु आफैँलाई
चर्किएको मुटु बोकी
चर्किएको ऐना सम्मुख
सबै चर्किएको देख्छु
अनि
थप चर्किन्छु आफैँसँग!!

तिम्रो प्रेमको अग्नि परिक्षामा
मेरा हर एक प्रयत्नहरु
खरानी बनेका छन्
र खरानीसँग मैँले
पुन: प्रश्न गरेकी छु
तिमी प्रेम हौ या समर्पण??

Friday, June 10, 2016

सोचमा कैद अस्तित्व

रहर र बाध्यताको फ्युजनबिच
रमिते बनेको छ जिन्दगी
हेर्दा सग्लो छ स्वरुप
तर हर एक एक पल बिचमा
एक एक मृत्यु मरेर
फगत स्वास प्रस्वासकै
निरन्तरको प्रकृयालाई
जिन्दगी भन्ने हो भने
सुन ए मेरा प्रियजनहरु
म अझै जिवित छु ।

भलै तिमी जस्तै नबाँचुला म
तर एक स्वास प्रस्वास नली त
मसँग पनि छ
यो कपट दुनियाँ नियाल्ने
एक जोडा आँखाका नानी
मसँग पनि छ
छन् मसँग तिम्रै जस्ता अंग प्रत्यंगहरु
फरक यति हो
मसँग तिम्रो जस्तो मगज छैन
तिम्रो जस्तो मुटु छैन
तर म छु
तिमी बाँचेकै एक भुगोल खण्डमा
कुनै बदनाम गल्लीभित्र
जिजिबिषा सल्बराइरहेका
एउटा सग्लो शरिर लिएर
बदनामको जिन्दगी ब्यतित गरेको
तथाकथित मान्छे भनेर चिनिने
सामाजिक भएर पनि
असामाजिक प्राणीको श्रेणिमा
गिन्ती गरिएकी
म अझै जिवीत छु
सक्छौ नियालेर हेर
एकपटक
हजार पटक
या पटक पटक
तिम्रा आँखाका तेजहरुले
मलाई आमा देख्छ कि
दिदी बहिनी देख्छ कि
प्रियतमा सखि देख्छ
या एक वेश्या
नतिजा तिम्रै सोचमा छोड्दैछु ।।

Thursday, June 2, 2016

मान्छे

पुजेर पत्थर दिनहुँ
गुनासो पोख्छौ मान्छेसँग
मान्छे भएर मान्छेलाई
मान्छे जस्तो नदेख्ने
तिम्रा बन्धक भएका आँखाहरुले
मान्छेलाई पशु

पशुलाई ईश्वर देख्छ
अनि खोज्दछ मान्छेकै सामिप्यता
कस्तो अजिब आदत ??

मेरो अनुरोध;
तिमी मान्छे भएर बाँच्न सिक !!

यि मान्छे जस्तै देखिने मान्छेहरु
यत्रतत्र सर्वत्र छन्
लालसै लालसामा बाँचेका
दुष्ट आत्माहरु
तिम्रै वरिपरी मडारिइ रहन्छन् ।

यौन,वैभव,सौन्दर्य जस्ता उन्मादहरुले
अन्धा भएका/बन्दि भएका
सामाजिक संरचनाभित्र
नितान्त एकाङ्गी स्वरुपमा बाँचेका
भोगवादी मनोवृत्तिबाट ग्रसित
मान्छेहरुको जमातभित्रबाट
अलग रहेर
तिमी आफुलाई
केवल मान्छे बनाउन सिक
प्रिय!
तिमी आफ्नो सत्त्वको खोजी गर !!

Wednesday, June 1, 2016

अात्मरति

किन मौन छौ?
पोख न मनका भडासहरु
घुर्क्याउ सराप जे गर
आफु खुसी गर
नसोच म दुख्छु कि भनी
तिमी दुखेर म खुसी रहनु
हत्केलाले सुर्य छेक्नुजस्तै हो
बुझ न प्रिय
मन आसपास भौँतारिरहन्छ
खोज्छ तिम्रै सामिप्यता
तिमी भएर पनि नहुनुको पिडा
शब्दले ग्रहण गर्दैनन्
तिमी मेरो हौ;
म आत्मरतिमा रमाइरहेछु
तिमी भ्रम बिच्छाइरहेछौ
यो कस्तो बिडम्बना?

Monday, March 7, 2016

जिन्दगी

यि यादहरु साह्रै बेइमान छुस्स मिसकल मार्छ नेटवर्क बिजी राख्छ! रातभर अनिदोँ आँखा बोकेर मस्तिष्क सपना देख्न उद्देलित बन्छ सपना पनि कस्तो अजिब,अजेय,अदृश्य मन उस्तै भावुक सुम्सुम्याउँछ परेलीहरु दुखाउँछ आफैँलाई सोध्छ घरी घरी के जिन्दगी जिन्दगी जस्तै भयो? जिन्दगी आफैँमा प्रश्नचिन्ह बनेर ठिङ्ग उभिन्छ सामुन्ने खोज्छ आफैँलाई निरन्तर निरुत्तर यी संवेगहरुमा फर्कन्छ रित्तो हात उसैगरी! अचेल जिन्दगी घुम्ती मोड र कुइनेटाहरुमा हजारौँ ठक्कर खाएर रन्थनिँदै सुस्त गतिमा चल्दैछ थियो दौडनुपर्ने रफ्तारमा कठै!घिस्रँदै पो छ यि घर्षणहरुले छोडेका धुन कति नमिठा बिरक्त लाग्दा! सायद परिवर्तन जरुरी थियो आफैँ चल्नु भन्दा इशारामा चल्नु र त जिन्दगी जिन्दगी जस्तो नभएर फोटोकपि जस्तै भैदिएपछि मेरा मौनताहरु उत्कर्षमा पुगी नयाँ जीवनको नयाँ आयाम खोज्दै आफु हुनुको बोधबाट अलग बसेर असन्तुष्टी पोखिरहेछ भन्दैछ अब बिद्रोह जरुरी छ...!!

Friday, January 1, 2016

कुण्ठा

मस्त नशामा
अर्धबेहोसीको तालमा
मैँले भुलाउन खोजेँ
मैँले बिर्सन चाहेँ
आफु हुनुको अस्तित्व
एक्लो हुनुको पिडा
तर
यि निर्दयी रातहरु
आकाशमा झल्मलाएका ताराहरु
त्यो जुनेली रातले
सँधै कुठाराघात गरिरहे
मेरै समिप रहेर
मेरै अघिल्तिर रहेर
निष्प्राण बनाउन चाहे

पिडाबोध गराइरहे
एक्लो हुनुको पिडाबोध!

कठै!म अनि मेरो मन
तल्लिनरत मेरा
निष्काम प्रयत्नहरु
तिम्लाई भुल्ने
आफैँलाई बिर्सने
आफु हुनुको बोधबाट
अज्ञात रहने
सबै सबै प्रयासहरु
हरदम हरपल
दुखिरहे भित्र भित्रै
यसै यसै अनायसै!!

गजल

अव्यक्त प्रेमको अपुरो कहानी तिम्रो जस्तै मेरो पनि
अनिँदो रातमा आँशुको सिरानी तिम्रो जस्तै मेरो पनि!!

म चौतारी बनेँ,बिसाए थकाई;कति आए कति गए
अन्तत यहाँ छ एक्लो जवानी तिम्रो जस्तै मेरो पनि!!

म फुल्थेँ मगमगाउथेँ र चुम्थ्यो भवँरा अंग अंग
झरेँ म यसै भो संसार बिरानी तिम्रो जस्तै मेरो पनि!!

नखोज,नसोध,नखोतल;चिरेर छाती देखाउन्न म
छुपाको दिलमा उसको निसानी तिम्रो जस्तै मेरो पनि!!